
पौष १९ धरान : स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समृद्ध बनाउन धरानबासी एकजुट भई त्यहाँ राजनीतिक चलखेललाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।
उनले पछिल्लो समय चिकित्सा शिक्षा ऐनमा भएको संशोधनले ५० जना विद्यार्थी कोटा कटौती गरेपछि प्रतिष्ठान आर्थिक सङ्कटमा परेको बुझिएको बताउँदै भने ‘आउँदो शैक्षिक सत्रबाट कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने छ ।
वीपी प्रतिष्ठानको अनुगमनका लागि धरान आएका मन्त्री बस्नेतको स्वागतमा बिहीबार काँग्रेस पार्टी कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस धरान नगर समितिले १० सूत्रीय माग सहित ज्ञापन पत्र बुझाएको थियो ।
उक्त मागहरूलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले मन्त्रालयको पहलमा गर्न सकिने कार्यको बारेमा वचन दिएका हुन । उनले प्रतिष्ठानमा लामा समय देखी नयाँ एमआरआई मेशिनको माग भइरहेकामा मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै भने ३० करोड माथिको लागत लाग्ने महँगो भए पनि यहाँको आवश्यकतालाई बुझेर यसै वर्ष एमआरआई मेशिन खरिद गर्ने वचन दिन्छु ।
मन्त्री बस्नेतले प्रतिष्ठानमा डाक्टर कर्मचारीको बढुवा प्रक्रियालाई लिएर निकै सकस चलेको बताए । लोकसेवा आयोगको प्रक्रिया अनुसार अनुमति लिएर प्रक्रिया ढिलाइ भएको बताउँदै चालु आर्थिक वर्ष भित्रै बढुवा प्रक्रिया अघि बढ्ने वचन पनि दिए ।
धरान-१ छाता चौक स्थित पुरानो अस्पतालमा नगर अस्पतालको माग हुँदै आएकोमा प्रतिष्ठानकै थप विभागको रूपमा त्यहाँ ट्रमा सेन्टर निर्माण गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले भने ‘ट्रमा सेन्टर ठुलो योजना हो, यसको लागि धेरै लागत चाहिने भएकोले यसलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर काम अघि बढाइने छ ।
सरकारले वीपी प्रतिष्ठानलाई भुक्तानी गर्नु पर्ने रकम निकासा नहुँदा पनि प्रतिष्ठानले आर्थिक सङ्कट झेल्नु परेको गुनासोका बारेमा मन्त्री बस्नेतले त्यस विषयमा प्रतिष्ठानका पदाधिकारीहरू सँग छलफल गरी समस्याको निकास खोजिने आश्वासन दिएका छन् ।
यसैगरी प्रतिष्ठानमा डाइलसिस मेशिनको कमीका बारेमा गरिएको मागका बारेमा पनि मन्त्री बस्नेतले मन्त्रालय सकारात्मक रहेको बताए । स्वास्थ्य बिमाको बारेमा सरकारले नयाँ धारणा अनुसार काम सुरु गरेको बताउँदै उनले भने ‘बिमालाई उपचारका लागि भन्दा उपयोग गर्ने प्रवृत्ति निरुत्साहित गर्दै अब एक ठाउँमा गरेको बिमाले जुनसुकै अस्पतालमा उपचार पाउने व्यवस्था गर्ने नीति बनाउने छौँ ।
मन्त्री बस्नेतले राष्ट्रिय बजेटमा सबै भन्दा ठुलो कटौती स्वास्थ्य मन्त्रालयको बजेटमा भएको बताउँदै ४० प्रतिशत सम्म बजेट कटौती भएपछि स्वास्थ्य क्षेत्रमा सुधार र आवश्यक सेवाका कार्य गर्न कठिनाइ भइरहेको सुनाए । उनले भने ‘स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारी आवश्यक रहेको छ, ३० हजार कर्मचारीको भर्नाको आवश्यक प्रक्रिया बल्ल सुरु गरेका छौँ ।
मन्त्री बस्नेतले भने ‘जस्तो सुकै समस्या भए तापनि ‘प्रतिष्ठानमा ३ महिनामा सुधार देखिने गरी काम गर्ने तपाईँहरूलाई वचन दिन्छु ।’ तर धरानका राजनीतिक दलहरूले प्रतिष्ठानको सुधारका काम गर्दा राजनीतिकरण गर्न नहुने बताए ।
ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस धरान नगर अध्यक्ष श्याम पोखरेलले धरानमा भएका र यहाँको आर्थिक, सामाजिक, पर्यटनमा भूमिका खेल्दै आएको ठुलो निकाय भनेका वीपी प्रतिष्ठान मात्र बाँकी रहेको बताए । उनले भने ‘प्रतिष्ठान धरानको जीवन मरणको विषय बनेकोले धरानबासी माझ यसको विकाश र स्थायित्वका बारेमा चिन्ता लिदैं आएका छन् ।’
काँग्रेस सुनसरी–१ का सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सुनसरी काँग्रेसका पूर्व सभापति राजीव कोइरालाले प्रदेश प्रहरी अस्पताल सुनसरीको इनरुवामा स्थानान्तरण भएको विषयमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रम सञ्चालन काँग्रेस धरान नगर सचिव जितेन्द्र राईले गरेका थिए ।

धरान कार्यपालिका बैठक एजेण्डा नराखिनै स्थगित

चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह

पाथीभरा केवलकार विवाद : धरानमा पक्राउ परेकाहरूलाई म्याद थप गरेपछि सामूहिक गिरफ्तारी दिने तयारी

मु्कुमलुङ केवलकार विवाद पूर्वको ९ जिल्ला बन्द आव्हान्, सुनसी धरानमा ५ जना पक्राउ

थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न

प्रतिक्रिया दिनुहोस्