ओम्रीबुङ/बिज्ञान राई/धरान – धरानका ज्येष्ठ नागरिकमा देखिने अस्टियोपोरोसिस (हड्डी कमजोर हुने समस्या) को समयमै पहिचान तथा उपचारका लागि रोटरी क्लब अफ धरान घोपाले सामुदायिक अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन गर्ने भएको छ।
क्लबले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार “स्वस्थ हड्डी, स्वस्थ वृद्धावस्था” नारासहित सञ्चालन हुने कार्यक्रम धरान उपमहानगरपालिका तथा वडा कार्यालयहरूसँगको समन्वयमा अघि बढाइनेछ।
कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकमा अस्टियोपोरोसिस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, उच्च जोखिममा रहेका व्यक्तिको पहिचान गर्ने, निदान भएका बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने तथा ६५ वर्षभन्दा माथिका महिला र ७० वर्षभन्दा माथिका पुरुषको हड्डी परीक्षण गर्ने लक्ष्य राखिएको छ।
रोटरी क्लबका अनुसार अस्टियोपोरोसिसलाई धेरैजसो अवस्थामा लक्षण नदेखिने ‘मौन रोग’का रूपमा लिइन्छ। यसका कारण हुने कम्मर, ढाड तथा नाडीका हड्डी भाँचिने जोखिमले ज्येष्ठ नागरिकको दैनिक जीवन, आत्मनिर्भरता र स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ।
कार्यक्रममा Bone Mineral Density (BMD) परीक्षणमार्फत हड्डीको घनत्व जाँच गरिने जनाइएको छ। प्रेस विज्ञप्तिमा हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत यस्तो परीक्षण उपलब्ध रहेको उल्लेख गर्दै समयमै परीक्षण र उपचारबाट अस्टियोपोरोसका जटिलता घटाउन सकिने बताइएको छ।
कार्यक्रमका मुख्य उद्देश्य
- ज्येष्ठ नागरिकमा जनचेतना बढाउने।
- अस्टियोपोरोसिसबारे उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको पहिचान गर्ने।
- निदान भएका बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने।
- ६५ वर्षमाथिका महिला तथा ७० वर्षमाथिका पुरुषको हड्डी परीक्षण गर्ने।
- दीर्घकालीन रूपमा अस्थियोपोरोसिसबाट हुने जटिलता घटाउने।
करिब १ हजार ज्येष्ठ नागरिकको स्क्रिनिङ लक्ष्य
क्लबले करिब १ हजार जना अस्थियोपोरोसिसको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको प्रारम्भिक स्क्रिनिङ गर्ने लक्ष्य राखेको जनाएको छ। यसबाट धरानका वृद्धवृद्धामा हड्डीको स्वास्थ्यसम्बन्धी चेतना बढ्नुका साथै आवश्यक परेका व्यक्तिले समयमै उपचार पाउने अपेक्षा गरिएको छ।
रोटरी क्लब अफ धरान घोपाका कार्यक्रम संयोजक रो. अतुल श्रेष्ठका अनुसार यो कार्यक्रम धरानमा अस्थियोपोरोसिस रोकथामतर्फको प्रारम्भिक चरणका रूपमा अघि बढाइएको हो। क्लबले धरान उपमहानगरपालिका, स्वास्थ्य संस्था र सामुदायिक संस्थासँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
भिडियो
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्