बुधबार, भदौ ३१, २०८३ | Wed September 16, 2026


धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान

धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान

Omribung Admin | ५ दिन अघि

 

बिज्ञान राई/ओम्रीबुङ/ धरान । धरानमा पहिलोपटक रात्रिकालीन महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। धरान–१९ स्थित डी–१९ क्लबको आयोजनामा ‘प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप–२०८३’ सञ्चालन गर्न लागिएको हो।

क्लनका अध्यक्ष सन्तोष राईका अनुसार प्रतियोगिता कार्तिक २८ गतेदेखि मंसिर ६ गतेसम्म धरान रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगिताका लागि अस्थायी फ्लडलाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गर्ने तयारी गरिएको छ। धरानमा महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता रात्रिकालीन रूपमा आयोजना हुन लागेको यो पहिलोपटक हो। 

डी–१९ क्लबले प्रतियोगितामार्फत धरानका स्थानीय महिला फुटबल खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ। यसबाट स्थानीय महिला खेलाडीको आत्मविश्वास बढाउनुका साथै व्यावसायिक फुटबलतर्फ आकर्षित गर्ने लक्ष्य आयोजकको छ।

विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख

प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। त्यस्तै कप तथा मेडलका लागि समेत छुट्टै बजेट राखिएको छ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गर्ने योजना रहेको छ। यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार दिने उल्लेख छ।

आयोजनामा करिब ९२ लाख खर्चको अनुमान

डी–१९ क्लबले तयार गरेको अनुमानित खर्च विवरणअनुसार प्रतियोगिता सञ्चालनमा कुल ९१ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

खर्चमध्ये पुरस्कार, कप तथा मेडल, अफिसियल, रेफ्री तथा म्याच कमिसनर, होटल व्यवस्थापन, खेल मैदान तयारी, स्टेज व्यवस्थापन, साउन्ड सिस्टम, टेन्ट तथा सामग्री खरिद, प्रतियोगिताको माया चिनो तथा स्टेशनरी, रेडक्रस तथा स्वयंसेवक सामग्रीलगायतका शीर्षक समावेश छन्।

यो पनि पढ्नुहोस  बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त

यसैगरी सहभागी टोलीको आवास, होटल तथा ट्राभल खर्च, प्रचारप्रसार, खाना व्यवस्थापन र विविध खर्चका लागि समेत बजेट छुट्याइएको छ।

राष्ट्रिय तथा विदेशी टोली सहभागी हुने

प्रतियोगितामा नेपालका विभागीय तथा विभिन्न क्लबका महिला टोलीसँगै विदेशी टोलीको समेत सहभागिता रहने आयोजकले जनाएको छ। सार्वजनिक विवरणअनुसार एपीएफ क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब तथा विदेशी टोलीलाई प्रतियोगितामा सहभागी गराउने तयारी गरिएको छ। 

क्लबले प्रतियोगितालाई केवल फुटबल प्रतियोगिताका रूपमा नभई धरान र कोशी प्रदेशका महिला खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित