शुक्रबार, कार्तिक ७, २०८३ | Fri October 23, 2026


प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, नारायणकाजी श्रेष्ठले भने– कम्युनिस्ट आन्दोलनका वैचारिक योद्धा

प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, नारायणकाजी श्रेष्ठले भने– कम्युनिस्ट आन्दोलनका वैचारिक योद्धा

Omribung | २ हप्ता अघि

काठमाडौं। सोलुखुम्बुका ७६ वर्षीय प्रेमकुमार राईको आत्मवृत्तान्त पुस्तक शनिबार काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा लोकार्पण गरिएको छ। नेकपाका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र थुलुङ दुधकोशी गाउँपालिकाका पूर्वअध्यक्ष असिम राईलगायत व्यक्तित्वहरूको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो।

लोकार्पण कार्यक्रममा बोल्दै नारायणकाजी श्रेष्ठले प्रेमकुमार राईलाई कम्युनिस्ट आन्दोलनका वैचारिक योद्धाका रूपमा चित्रण गरे। पूर्वमन्त्री पोखरेलले दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा जन्मिएका राईको राजनीतिक तथा सामाजिक चेतना महत्त्वपूर्ण रहेको बताए। पूर्वअध्यक्ष असिम राईले राईलाई आफ्नो अभिभावकका रूपमा गर्वका साथ लिने गरेको उल्लेख गरे।

२००९ साल चैत १० गते सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५, जुबुमा जन्मिएका राईले आफ्नो आत्मवृत्तान्तमा बाल्यकालका सङ्घर्ष, राजनीतिक गतिविधि, शैक्षिक नेतृत्व र सामाजिक सेवाका अनुभव समेटेका छन्। सानै उमेरमा आमाबुवा र बजै गुमाएका उनले कठिन परिस्थितिबीच जीवनयात्रा अघि बढाएका थिए।

पुस्तकमा नेपालको सामन्तवादविरोधी आन्दोलन, पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्ष, वामपन्थी राजनीतिक सङ्गठन निर्माण, २०३५ सालको विद्यार्थी आन्दोलन तथा राजनीतिक कार्यकर्तालाई सहयोग गरेका प्रसङ्ग समावेश छन्। २०४६ सालमा उनी संयुक्त वाममोर्चा, सोलुखुम्बुको जिल्ला सचिवमा निर्वाचित भएका थिए।

राईले २०३० देखि २०६९ सालसम्म जनजागृति निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा सेवा गरेका थिए। एउटै विद्यालयमा ४० वर्ष चार महिना चार दिन नेतृत्व गरेका उनले शिक्षासँगै नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य सेवा तथा विभिन्न सामाजिक संस्थामा पनि जिम्मेवारी निर्वाह गरेका थिए। उनी फाप्लु अस्पताल विकास समितिका अध्यक्षसमेत बनेका थिए।

आत्मवृत्तान्तमा थुलुङ राई समुदायको इतिहास, संस्कृति र वंशावलीसम्बन्धी सामग्रीसमेत समेटिएको छ। व्यक्तिगत सङ्घर्ष र उपलब्धिसँगै कमजोरी, गल्ती तथा आत्मसङ्घर्षका अनुभव पनि प्रस्तुत गरिएको पुस्तकले राईको जीवनयात्रासँगै सोलुखुम्बुको राजनीतिक, शैक्षिक र सामाजिक इतिहास अभिलेखबद्ध गर्ने प्रयास गरेको छ।

यो पनि पढ्नुहोस  सुम्निमा पारुहाङ साझ-२ सम्बन्धि मेयर साम्पाङको पत्रकार सम्मेलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित