धरान, जेठ २० — किरात याक्थुङ चुम्लुङ, उपमहानगर कार्यसमिति धरानले विजयपुर दरबार क्षेत्रमा रहेका ऐतिहासिक लिम्बु समाधि तथा चिहानहरू भत्काइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। संस्थाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यलाई ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदामाथिको हस्तक्षेप र अतिक्रमणको प्रयास भएको जनाएको हो।
विज्ञप्तिमा विजयपुर दरबार क्षेत्र प्राचीन लिम्बुवान राज्यको ऐतिहासिक केन्द्र तथा लिम्बु समुदायको अस्तित्व, पहिचान, संस्कृति र धार्मिक आस्थासँग जोडिएको महत्वपूर्ण सम्पदा भएको उल्लेख गरिएको छ। चुम्लुङका अनुसार दरबार क्षेत्रभित्र रहेका करिब दुई दर्जनभन्दा बढी पुराना समाधि तथा चिहानहरू हालै भत्काइएको अवस्थामा फेला परेका छन्।
संस्थाले प्रारम्भिक अध्ययनका आधारमा ती समाधिहरू याक्थुङ (लिम्बु) समुदायसँग सम्बन्धित रहेको दाबी गर्दै त्यहाँ रहेका शिलालेख, ढुंगा तथा अन्य ऐतिहासिक चिन्हहरू समेत नष्ट गरिएको जनाएको छ। यस घटनाले लिम्बु समुदायलाई दुःखी र आक्रोशित बनाएको विज्ञप्तिमा उल्लेख छ।
किरात याक्थुङ चुम्लुङले घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै भत्काइएका समाधि तथा चिहानहरूको पुनःनिर्माण, संरक्षण र व्यवस्थापनको उचित व्यवस्था गर्न समेत आग्रह गरिएको छ।
विज्ञप्तिमा विजयपुर दरबार क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय सरकार, पुरातत्व विभाग तथा सरोकारवाला निकायहरूलाई सम्पदाको सूचीकरण, अभिलेखीकरण र संरक्षणका कार्य तत्काल अघि बढाउन अनुरोध गरिएको छ।
चुम्लुङले विजयपुर दरबार क्षेत्रको संरक्षण तथा विकास सम्बन्धी कुनै पनि योजना अघि बढाउँदा आदिवासी समुदायको अधिकार सुनिश्चित गर्दै पूर्व सूचित सहमति (FPIC) तथा संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकार घोषणापत्र (UNDRIP) का सिद्धान्तहरू पालना गर्नुपर्नेमा जोड दिएको छ।
संस्थाले ऐतिहासिक विजयपुर दरबार, गढी, मठ–मन्दिर तथा पुरातात्त्विक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग पनि गरेको छ।
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

प्रतिक्रिया दिनुहोस्