धरान, जेठ २० — श्रम संस्कृति पार्टीमा आबद्ध केन्द्रीय, प्रदेश तथा साधारण सदस्यहरूको एक समूहले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले पार्टी प्रवेश गर्नुअघि सामाजिक अभियन्ताका रूपमा समाजका विभिन्न समस्या उठाउँदै समाधानका लागि काम गर्दै आएको उल्लेख गरेका छन्। आगामी स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको नगर प्रमुख तथा वडाहरूमा प्रतिनिधित्व गर्ने उद्देश्यसहित पार्टीमा प्रवेश गरेको पनि विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिअनुसार पार्टी अध्यक्ष हर्कराज राईले पटक–पटक सम्पर्क गरी पार्टी प्रवेश गर्न आग्रह गरेका थिए। साथै आगामी स्थानीय निर्वाचनमा नगर प्रमुखको उम्मेदवार बनाउने प्रतिबद्धता व्यक्त गरेपछि आफूहरू पार्टीमा आबद्ध भएको दाबी गरिएको छ।
तर पछि पार्टी नेतृत्वले पूर्वप्रतिबद्धता विपरीत धरान–४ का वडाध्यक्ष धनबहादुर राईलाई नगर प्रमुखको उम्मेदवार घोषणा गरेको भन्दै समूहले असन्तुष्टि जनाएको छ। विज्ञप्तिमा उक्त निर्णय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको र यसले आफूहरूलाई आश्चर्यचकित बनाएको उल्लेख छ।
समूहले पार्टी अध्यक्षले दिएको प्रतिबद्धता पूरा नगरेको, वाचा विपरीत निर्णय गरेको तथा आफूहरूलाई धोका दिएको आरोप लगाउँदै नैतिक रूपमा पार्टीमा बस्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ।
उनीहरूले केन्द्रीय सदस्य पूर्ण गहतराज विश्वकर्मा, प्रदेश सदस्य विष्णु कुमारी राई (राखी नेवाङ) लगायत विभिन्न तहका सदस्यहरूको तर्फबाट तत्काल लागू हुने गरी पार्टीको साधारण सदस्यता समेत त्याग गरेको घोषणा गरेका छन्।
प्रेस विज्ञप्तिमा हस्ताक्षरकर्ताहरूले आफूहरूसँग आबद्ध अन्य सदस्यहरूले पनि सामूहिक रूपमा पार्टी परित्याग गरेको जनाएका छन्।
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्