धरान, जेठ २७ — बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) का मेडिकल अफिसरहरूले तलब, भत्ता तथा सेवा–सुविधामा व्यापक पुनरावलोकनको माग गर्दै प्रशासनसमक्ष ज्ञापनपत्र पेश गरेका छन्। उनीहरूका अनुसार हालको रु. ३४,५०० आधारभूत तलब करिब एक दशकदेखि सार्थक रूपमा पुनरावलोकन भएको छैन भन्दै तलब पुनरावलोकन माग गर्दै बिपी कोईराला स्वा बिज्ञान प्रतिष्ठानका मेडिकल अफिसरहरु आन्दोलनमा उत्रिएका छन् ।
मेडिकल अफिसरहरूले प्रस्तुत गरेको ज्ञापनपत्रमा १०–१२ वर्षदेखि तलब संरचनामा उल्लेखनीय सुधार नभएको, अधिकांश भत्ताहरू चार वर्षभन्दा बढी समयदेखि यथावत् रहेको तथा बढ्दो मुद्रास्फीतिका कारण वास्तविक आम्दानी घट्दै गएको उल्लेख गरिएको छ। उनीहरूका अनुसार औसत मुद्रास्फीति ५.८१ प्रतिशत रहेको छ भने केही वर्षमा यो ७.७३ प्रतिशतसम्म पुगेको थियो।
प्रतिष्ठानका मेडिकल अफिसरहरूले ICU, Emergency, Ward, Operation Theatre (OT) तथा Outpatient Department (OPD) मा चौबीसै घण्टा सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै जनशक्ति अभावका कारण तोकिएकोभन्दा बढी बिरामी व्यवस्थापन गर्नुपरेको गुनासो गरेका छन्। उनीहरूले संक्रमण, जैविक जोखिम, Burnout, मानसिक तनाव तथा Night Duty का स्वास्थ्य असरलाई समेत प्रमुख चुनौतीका रूपमा औंल्याएका छन्।
मेडिकल अफिसरहरूका अनुसार सेवा–सुविधा सम्बन्धी विषय नयाँ नभई लामो समयदेखि उठाइँदै आएको मुद्दा हो। यस सम्बन्धमा विभिन्न चरणमा प्रशासन तथा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको थियो ।
यसै गरी मिति २०८२/१०/०४ — पहिलो औपचारिक पत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचनापछि तलब तथा सेवा–सुविधा पुनरावलोकनका लागि प्रारम्भिक ज्ञापनपत्र पेश।
त्यसपछिका करिब ४ महिना — निरन्तर संवाद र फलोअप
विभिन्न बैठक तथा छलफल भए पनि कुनै ठोस निर्णय वा कार्ययोजना सार्वजनिक नभएको दाबी।
२०८३/०२/१९ — दोस्रो ज्ञापनपत्र
समाधान नआएपछि सेवा–सुविधा सुधारका लागि पुनः औपचारिक मागपत्र पेश।
२०८३/०२/१९ — Pen-down चेतावनी
माग सम्बोधन नभए सेवा बहिष्कार (Pen-down) मा जान सकिने चेतावनी।
२०८३/०२/२५ — अन्तिम चेतावनी तथा Pen-down घोषणा
माग पूरा नभए सामूहिक Pen-down कार्यक्रम अघि बढाइने औपचारिक जानकारी।
मेडिकल अफिसरहरूले निरन्तर संवाद र अनुरोधका बाबजुद हालसम्म कुनै स्पष्ट निर्णय, कार्ययोजना वा समयसीमा सार्वजनिक हुन नसकेको बताएका छन्। उनीहरूका अनुसार वर्तमान आन्दोलन आकस्मिक नभई लामो समयदेखि समाधान खोज्ने प्रयासहरूको निरन्तरता हो।
प्रमुख मागहरू
– आधारभूत तलब पुनर्निर्धारण
– नेपाल सरकारको तलब वृद्धिसँग स्वचालित समायोजन
– रात्रीकालीन ड्युटी भत्ता
– जोखिम भत्ता (Risk Allowance)
– ICU तथा Emergency विशेष भत्ता
– ओभरटाइम भत्ता
– महँगी भत्ता
– सञ्चार भत्ता
– खाना तथा खाजा भत्ता
– पोशाक भत्ता
– सार्वजनिक बिदामा कार्य गरेबापत क्षतिपूर्ति सुविधा
मेडिकल अफिसरहरू प्रतिष्ठानको आकस्मिक सेवा, सघन उपचार, शल्यचिकित्सा तथा नियमित बिरामी सेवाका प्रमुख कार्यबल मानिन्छन्। स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार प्रतिस्पर्धी तलब तथा सेवा–सुविधाको अभावले दक्ष जनशक्ति संरक्षणमा चुनौती उत्पन्न गर्न सक्छ।
विशेषज्ञहरूका अनुसार स्वास्थ्यकर्मीको मनोबल, कार्यसन्तुष्टि र बिरामी सेवाको गुणस्तरबीच प्रत्यक्ष सम्बन्ध हुन्छ। यस्ता विषयहरू लामो समयसम्म समाधान हुन नसके चिकित्सक पलायन, नयाँ जनशक्ति आकर्षित गर्न कठिनाइ तथा स्वास्थ्य सेवाको निरन्तरतामै असर पर्ने जोखिम रहन्छ।
मेडिकल अफिसरहरूले समयसीमासहित समिति गठन गरी तलब, भत्ता तथा सेवा–सुविधाको समग्र पुनरावलोकन प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्। उनीहरूका अनुसार यो केवल आर्थिक माग नभई पेशागत सम्मान, कर्मचारी मनोबल, दक्ष जनशक्ति संरक्षण तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने विषय भन्दै लगतार अनिश्चित कालीन आन्दोलन गर्ने जनाएका छन् ।
धरानमा श्रम संस्कृति पार्टीबाट सामूहिक राजीनामा, नेतृत्वमाथि प्रतिबद्धता उल्लंघनको आरोप
विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने
धरानमा ‘चौथो गोरखा ट्रेलब्लेजर–२०८२’ हुने

प्रतिक्रिया दिनुहोस्