आइतवार, साउन ३१, २०८३ | Sun August 16, 2026


डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी

डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी

Omribung Admin | ३ दिन अघि

ओम्रीबुङ/बिज्ञान राई/धरान । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) परिसरमा सञ्चालित डिल्ली पब्लिक स्कुलमा अध्ययनरत विद्यार्थीहरूसँग सम्बन्धित आर्थिक अनियमितता, शुल्क असुली, पुस्तकको मूल्यमा हेरफेर तथा विद्यार्थीमाथि भएको भनिएको दुर्व्यवहारसम्बन्धी गुनासोमाथि तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै नगर बाल सञ्जाल, धरानले आज प्रतिष्ठानसमक्ष निवेदन बुझाएको छ।


रोजन शंकरका अनुसार विद्यालयका केही शिक्षक/सम्बन्धित व्यक्तिहरूले विद्यार्थीहरूबाट प्रमाणपत्र (Certificate) बापत तोकिएको शुल्कभन्दा बढी रकम असुल गरी व्यक्तिगत बैंक खातामा जम्मा गर्न लगाएको भन्ने गुनासो प्राप्त भएको छ। त्यस्तै, विभिन्न विद्यार्थीहरूलाई उपलब्ध गराइएका पुस्तकहरूको वास्तविक मूल्य मेटी वा परिवर्तन गरी बढी रकम असुल गरिएको भन्ने आरोपसमेत विद्यार्थीहरूबाट आएको सञ्जालले जनाएको छ।
यसका साथै केही विद्यार्थीहरूले आफूहरूमाथि मानसिक दबाब, दुर्व्यवहार तथा ह्यारेसमेन्ट भएको समेत गुनासो गरेको नगर बाल सञ्जालले जनाएको छ।
उक्त विषयमा यसअघि नै प्रतिष्ठानका सम्बन्धित पदाधिकारीसमक्ष गुनासो राखिएको र आवश्यक अनुसन्धान गरी दोषी देखिएमा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरिएको भए पनि हालसम्म प्रभावकारी रूपमा अनुसन्धान तथा कारबाही अगाडि नबढेको सञ्जालको भनाइ छ।


सञ्जालका अनुसार गुनासो राख्दा विद्यार्थी तथा गुनासोकर्ताको पहिचान गोप्य राखिने भनिए पनि गोपनीयता कायम हुन नसकेको र त्यसपछि सामाजिक सञ्जालमार्फत सम्बन्धित विद्यार्थीहरूलाई धम्की दिने, मानसिक दबाब सिर्जना गर्ने तथा चरित्र हत्या गर्ने प्रयास भइरहेको गुनासोसमेत प्राप्त भएको छ।
विद्यार्थीहरूको सुरक्षा र अधिकारलाई ध्यानमा राख्दै नगर बाल सञ्जाल, धरानले आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एकेडेमिक डिन प्रा. डा. अनुप घिमिरेसमक्ष निवेदन बुझाएको जनाएको छ।
निवेदनमार्फत प्रमाणपत्र तथा पुस्तकका नाममा उठाइएको भनिएको अतिरिक्त रकमलगायतका विषयमा निष्पक्ष, स्वतन्त्र तथा पारदर्शी छानबिन गर्न, विद्यार्थीमाथि भएको भनिएको ह्यारेसमेन्ट तथा मानसिक दबाबबारे अनुसन्धान गर्न र दोषी पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

Screenshot

त्यसैगरी विद्यार्थी तथा गुनासोकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखी उनीहरूको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूलाई धम्की दिने वा चरित्र हत्या गर्ने प्रयासमा संलग्न व्यक्तिमाथि समेत आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको छ।
निवेदन बुझाएको मितिले ७२ घण्टाभित्र छानबिन तथा कारबाहीको प्रक्रिया औपचारिक रूपमा अगाडि नबढाइए विद्यार्थीहरूको हक, हित, सुरक्षा तथा न्यायका लागि शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिबाट चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी नगर बाल सञ्जाल, धरानले दिएको छ।
निवेदनको बोधार्थ शिक्षा मन्त्रालय, नेपाल सरकार तथा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, सुनसरीलाई समेत दिइएको छ।
नगर बाल सञ्जाल, धरानले विद्यार्थीको सुरक्षा, अधिकार र न्यायसँग जोडिएको संवेदनशील विषय भएकाले सम्बन्धित निकायले तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन तथा दोषी पाइएमा कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  नेपाल तरुण दल सुनसरी क्षेत्र नं १ ले बडिविल्डिङ च्याम्पियनसीप प्रतियोगिता गराउने


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित